काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा विकास गरिएको नयाँ औषधिले अनुमति पाएको छ ।
औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले ‘टू-डीजी’ नामक औषधिलाई सङ्क्रमितको उपचारमा प्रयोगका लागि आपत्कालीन अनुमति दिएको हो । कोभिडबाट अति प्रभावित दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ ।
औषधि कोभिडबाट ‘पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक’ रहेको भारत सरकारले दाबी गरेको छ ।तर केही आलोचकहरूले कोभिड उपचारका लागि औषधिलाई आपत्कालीन स्वीकृति दिँदा आवश्यक पर्ने तथ्याङ्क उपलब्ध नभएको बताएका छन् ।टू-डीअक्सी-डी-ग्लुकोज वा टू-डीजी औषधि डिफेन्स रिसर्च डेभलपमेन्ट अर्गनाइजेशन (डीआरडीओ)ले डक्टर रेड्डीज नामक औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो ।
भारतमा कोभिड-१९ सङ्क्रमणका कारण मृत्युदरमा अपेक्षा गरिएअनुसार कमी नआएपछि यसलाई उपचारका क्रममा प्रयोग गर्न अनुमति प्रदान गरिएको हो ।तर, स्वास्थ्यविज्ञहरूले मानिसहरूमा गरिएको परीक्षणमा औषधिको प्रभावबारे प्रकाशित तथ्याङ्कको कमीले यसको प्रभावकारिताबारे प्रश्न उत्पन्न भएको बताएका छन् ।





