धनगढीलाई हराउँदै काठमाडौं च्याम्पियन


१ जेष्ठ २०७८, शनिबार १९:४७ मा प्रकाशित

काठमाडौं । काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे ।

मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको बलमा मेसौकेले उत्कृष्ट गोल गरे ।यससँगै मेसौकेले लिगमा आफ्नो आठौं गोल पूरा गरेका छन् ।उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।निर्णायक गोलबाहेक दुबै टिमले गोलको थुप्रै अवसर पाएका थिए । तर, गोल गर्न सकेनन् ।

खेलको २९ औं मिनेटमा धनगढीका दिनेश राजवंशीले मेसौकेलाई फाउल गरेपछि काठमाडौंले करिब २५ यार्डबाट फ्रिकिक पाएको थियो । उक्त फ्रिकिकमा स्टेफेन बिनोङको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

३९ औं मिनेटमा धनगढीका बुद्ध बल तामाङको पासमा रुपेश केसीको प्रहारले दिशा लिन सकेन ।पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा तेज तामाङको पासमा मेसौकेले धनगढीका डिफेन्डर अशोक खवासलाई बिट गर्दै गरेको प्रहार गरेको बल पोस्टबार माथिबाट गएको थियो ।

खेलको ४६ औं मिनेटमा धनगढीले गोलको सुनौलो गोलको अवसर गुमायो ।काठमाडौंका गोलकिपर विकेश कुथुले फुत्काएको बलमा बुद्ध बलले प्रहार गरेको बल गोललाइन भन्दा केहि अगाडी रहेका फ्लोरेन्टलाई लाग्दै फर्किएको थियो ।५३ औं मिनेटमा धनगढीका मार्की खेलाडी विशाल राईले गोलको अवसर गुमाए ।अनमार्क रहेका उनको हेडर बलले पोस्टको दिशा लिन सकेन ।

खेलको ५५ औं मिनेटमा अशोक खवासको लामो प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले बल बाहिर फाल्दै गोल हुनबाट जोगाएका थिए ।६५ औं मिनेटमा स्टेफेन बिनोङको प्रहार धनगढीका गोलकिपर किरण चेम्जोङले मुश्किलले बचाए ।खेलको ७४ औं मिनेटमा मेसौकेको लामो फ्रिकिक बल पोस्ट बारमा लाग्दै फर्किदा काठमाडौं अग्रता दोब्बर बनाउन चुकेको थियो ।६५ औं मिनेटमा विश्वास श्रेष्ठको लामो पासमा स्टेफेनले अगाढी बढाउदै गरेको प्रहार दोस्रो बार नजिकैबाट बाहिरिन पुग्यो ।

७४ औं मिनेटमा मेसोउकेले बक्स बाहिर पाएको फ्री किक प्रहार क्रसर बारमा लाग्दै फर्किएको थियो ।खेलको ८३ औं मिनेटमा करिब ३५ यार्ड बाहिरबाट धनगढीक पुजन उपरकोटीको प्रहार बारको केही माथिबाट बाहिरिन पुग्यो ।

यस्तै खेलको अन्तिम मिनेटमा स्टेफेन बिनोङको प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।पहिलो संकरणको उपाधिसँगै काठमाडौंले ३५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ ।नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here