नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु


२१ बैशाख २०७८, मंगलवार १०:५२ मा प्रकाशित

काठमाडौं । देशका विभिन्न जिल्लामा कोरोनाले थप १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश ३५ वर्ष मुनिका रहेका छन्।

बाँकेमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार गएराति ७ बजे यता नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा चार जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीका ८० वर्षीय पुरुष र ५५ वर्षीय पुरुष छन् भने बाँकेका ७० वर्षीय पुरुष र ६५ वर्षीया महिला छन्।

कैलालीमा थप तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढी स्थित सेती प्रादेशिक अस्पतालले संचालन गरेको कोभिड अस्थाई अस्पतालमा उपचारका क्रममा बझाङका २६ बर्षीय पुरुष, बर्दियाका ३० बर्षीय पुरुष र धनगढीका २२ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका डाक्टर दिलिप श्रेष्ठले जानकारी दिए। उनका अनुसार बझाङका पुरुषको गएराति साढे ८ बजे, धनगढीका पुरुषको गएराती साढे १० बजे र बर्दियाका पुरुषको राति साढे १ बजे मृत्यु भएको हो।

पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेशनल मेडिकल कलेज कोरोना अस्पतालमा उपचार गराइरहेका ३४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।

बागलुङमा कोरोना संक्रमणका कारण स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ। ताराखोला गाउँपालिकाकी सदस्य ३० वर्षीया महिला जनप्रतिनिधिको उपचारका क्रममा गएराति धौलागिरी अस्पतालमा मृत्यु भएको हो। उनलाई वैशाख १९ गते कोरोना पुष्टि भएको थियो । श्वास प्रस्वासमा समस्या भएकी उनको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका डाक्टर शैलेन्द्र बिक पोखरेलले जानकारी दिए।

भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन्।

अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो। निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ। छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो। मकवानपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ४१ वर्षिया एक महिला रहेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here