विर्तामोड नगरपालिका भित्र सञ्चालनमा रहेका हस्पिटलहरुले कोरोना उपचारको लागि वेड छुट्टयाउने


१७ बैशाख २०७८, शुक्रबार २१:०२ मा प्रकाशित

झापा ।    विर्तामोड नगरपालिका भित्र सञ्चालनमा रहेका हस्पिटलहरुले २० देखि ५० प्रतिशत वेड कोरोना उपचारको लागि छुट्टयाउने भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गईरहेका बेला नगरपालिकाले हस्पिटल सञ्चालक तथा प्रतिनिधिहरुसंग शुक्रवार गरेको छलफलमा वेड क्षमताको २० देखि ५० प्रतिशत कोरोना उपचारको लागि छुट्टयाउने निर्णय भएको हो ।छलफलमा सबै हस्पिटलले कोरोनाको अनिवार्य उपचार गर्नु पर्ने,उपचाररत कोभिडका विरामीको विवरण दैनिक नगरपालिकाको स्वास्थ्य शाखामा उपलव्ध गराउनु पर्ने,नगरभरीका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको पिसिआर टेष्ट तथा कोभिड विरुद्वको खोपको व्यवस्था नगरपालिकाले गर्ने,उपचाररत कोभिड संक्रमितको मृत्यु भएमा सम्बन्धित पालिकालाई खबर गर्नुपर्ने र सो पालिकालेनै शवको व्यवस्थापन गर्नु पर्ने,हस्पिटलमा कोभिड संक्रमितको मृत्युको संख्या बढ्दै गएमा आवश्यक शवगृहका लागि जिल्ला प्रशासन कार्यालयसंग अनुरोध गर्ने लगायतका निर्णय गरीएको स्वास्थ्य शाखाका कोभिड संयोजक ओम खड्काले जानकारी दिनु भयो ।

विर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा सम्पन्न छलफलमा उपप्रमुख पवित्रा महतारा प्रसाई,प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहाल,स्वास्थ्य शाखा प्रमुख तुलसी पोख्रेल,संजिवनी अस्पतालका सञ्चालक डा.सिपि यादव,मेची आँखा अस्पतालका डा.सुरजकुमार रौनियार,मनमोहन अस्पतालका वुद्विराम भट्टराई,अञ्जलि हस्पिटलका डा.गौरी शंकर झा, कनकाई हस्पिटलका खेमराज वानियाँ, कञ्चनजंघा अस्पतालका डा.प्रमोद कुमार शाह,विएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here