झापा । झापाको बिर्तामोड नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १९ गते सम्मका लागि बन्द गरिने भएको छ ।
बिर्तामोड नगरपालिकामा आज बसेको सरोकारवालाहरूको बैठकले नगर क्षेत्रका विद्यालय वैशाख १९ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले शहर केन्द्रित विद्यालय बन्द गर्न निर्देशन दिएसंगै बिर्तामोड क्षेत्रका नीजि तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णयमा सरोकारवालाहरु पुगेका हुन् ।
साथै सरकारको निर्देशनपछि आज बसेको सरोकारवालाको बैठकले वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय समेत गरेको बताइएको छ । कोरोनाको उच्च जोखिममा जिल्लाका तीन स्थानीय तह मेचीनगर, बिर्तामोड र दमक नगर क्षेत्र रहेको भन्दै सोमबार मन्त्रिपरिषद्को बैठकले शहर केन्द्रित विद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।
बैठकले वैशाख २० गतेदेखि पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बिर्तामोड नगरका शिक्षा अधिकृत केशरबहादुर खवासले बताए । उनले विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन हुने जानकारी दिए।
यसअघि सरकारले जेठ पहिलो साताबाट वार्षिक परीक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको थियो । तर संक्रमणको जोखिम बढेपछि सरकारले सोमबार मात्र वैशाख महिनाभर विद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण र यसबाट उत्पन्न परिस्थितिपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएसंगै वार्षिक परीक्षाको अन्तिम घडीमा अभिभावक र विद्यार्थी थप चिन्तित देखिएका छन् । यस्तै विर्तामोड नगरपालिका भित्र काम गर्न आउने भारतीय कामदारहरुले कोरोना संक्रमण नभएको प्रमाण पत्र अनिवार्य लिएर आउनु पर्ने मेयर ध्रुवकुमार शिवाकोटीले बताएका छन् ।
सबैले स्वस्थ्य मापदण्ड पालना गर्नु पर्ने भन्दै उनले विर्तामोड नगर भित्र होमक्वारेन्टाइनमा बसेकाहरुलाई अक्सिजन तथा खाद्यपदार्थको आभाव भए नगरपालिकाले उपलब्ध गराउने पनि जानकारी दिए ।





