वायु प्रदूषित शहरमा काठमाडौँ फेरि विश्वको एक नम्बरमा


२३ चैत्र २०७७, सोमबार १४:१९ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ फेरि विश्वको वायु प्रदूषित शहरहरूको सूचीमा एक नम्बरमा परेको छ ।

वर्षा भएर प्रदूषण हटेको केही दिनमै फेरि उपत्यकासहितका शहरहरुमा वायु प्रदूषण बढेको हो । वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमको सोमबार बिहान १० बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ ।

काठमाडौँपछि दोस्रो नम्बरमा म्यान्मारको यान्गोन शहर परेको छ । एआईक्यू एयरका अनुसार काठमाडौँको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) ३३१ पुगेको छ । सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

वातावरण विभागको मापनमा बिहान ९ः४५ बजे भक्तपुरको एआईक्यू ३४०, धादिङको ३७२, भरतपुरको ३५७ , सौराहाको ३०७ छ ।

काठमाडौंमा अहिले तुवाँलोले ढाकेको छ । घाम लाग्न सकेको छैन । काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेका डढेलो रहेको बताइएको महाशाखाले बताएको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको पछिल्लो अपडेटमा देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन् ।

आगलागी र डढेलोसँगै मुलुकभर पश्चिमी वायुको प्रभावले प्रदूषित हावा काठमाडौँको आकाशमा आएर धुप्रिएको मौसमविद्ले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here