काठमाडौं । हात्तीपाइले रोगको उच्च जोखिममा रहेका १२ वटा जिल्लामा आजदेखि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदैछ।
हात्तीपाइले रोग निवारणका लागि १२ जिल्लामा आज औषधि खुवाइन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ। झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा औषधि सेवन कार्यक्रम सञ्चालन हुन लागेको हो।
१२ जिल्लाका १ सय २९ स्थानीय तहका ७० लाख ४५ हजार जनालाई औषधि खुवाउने लक्ष्य रहेको विभागले जनाएको छ। नेपालमा अझै पनि करिब ३० हजार जना हात्तीपाइले रोगी रहेको सरकारी अनुमानित तथ्यांक छ।
हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। शरीरमा यसको परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छ। लक्षण देखिइसकेपछि भने यो रोग निको पार्न नसकिने चिकित्सकहरुले बताएका छन्।
दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु, कडा रोगको लागि औषधि सेवन गरिरहेकाहरु, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरूलाई यो औषधि खुवाउन हुदैन।





