माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने


१९ चैत्र २०७७, बिहीबार १३:०९ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपनि केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको हो ।

आज पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले फेरि अर्को बैठक बसेर नयाँ निर्णय गर्ने बताए । प्रवक्ता श्रेष्ठले सरकारबारे नेपाली कांग्रेस र जसपाले निर्णय नगरेकोले अहिले नै आफ्नो पार्टी समर्थन फिर्ताबारे निर्णय नलिएको बताए ।

प्राविधिक पत्र नपठाए पनि यो सरकारलाई माओवादीको समर्थन नरहने उनले बताए । प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टीको स्ट्यान्डबाई पोलिसी छ । यो सरकारलाई हाम्रो समर्थन छैन। हामीले टेक्निकली मात्रै अहिलेको सन्दर्भमा चिठी लेखिसकेका छैनौं । हामीले यो पार्टीको एकतापछि यो सरकार ७६(१) को सरकार भएको थियो ।

सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले नेकपालाई दुईटा पार्टीमा विभाजन गरिदिइसकेपछि हामीसँग समर्थन मागेको पनि छैन । हामीले पनि औपचारिक समर्थन गरेका पनि छैनौँ । त्यसले अरु कुनै प्रक्रियालाई रोक्दैन।’

प्रवक्ता श्रेष्ठले आफूहरुले प्रतिगामी कदम चाल्ने सरकार ढालेर त्यसविरुद्ध उत्रेका दलहरूको सरकार बनाउने बताए ।

‘अरू दलसँग हामीले वार्ता गरिरहेका छौँ । उहाँहरुले स्पष्ट रुपमा धारणा राख्नुपर्यो भनेका हौँ । ओलीलाई समर्थन गरे पनि हुन्छ’ उनले भने, ‘हामी ओली सरकारलाई हटाएर संसद दुई बर्ष चलाउन चाहान्छौँ । प्रतिगामी कदम चाल्ने सरकार अदालतको निर्णयपछि जानुपर्ने हो । हामीले प्रतिगमनको विरुद्ध लाग्ने मिलेर सरकार बनाऔँ भनेका हौँ । हामी अरुलाई लाद्न सक्दैनौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here