भेला गुटगट होइन, पीडित पीडित एक ठाउमा भेला भएका हौँः माधव नेपाल


४ चैत्र २०७७, बुधबार १४:१५ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले आयोजना गरेको भेला गुटगट नभइ अध्यक्ष केपी शर्मा ओलीबाट सिर्जित समस्या भएको बताएका छन् ।

ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा आजदेखि शुरू भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अहिले पार्टी अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको पनि बताए ।

नेता नेपालले अहिले अवस्था कसरी आयो भन्ने विषयमा कार्यकर्ता जानकार रहेको बताउँदै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताए ।

एकीकृत नेकपा विभाजन हुनु, नेकपा एमाले नै आन्तरिक रुपमा यस्तो अवस्था आउनुको एक मात्र जिम्मेवार अध्यक्ष ओली रहेको उनले दोहोर्‍याए ।

नेकपा हुदा चर्चामा रहेको ‘साइबर स्याल’ हरु अहिले एमाले भएपछि पनि रहेको भन्दै फेक समाचार फैलाएर भेला स्थगित भएको हल्ला फैलाएको आरोप उनले लगाए ।

अहिलेको लडाई पदको लागि नभएको दाबी गर्दै नेता नेपालले यो लडाई सिद्धान्त र निष्ठाको लडाई भएको बताए ।

ओलीले अध्यक्ष भएपछि गुटको काम जारी राखेको भन्दै आफुहरुले बैठक राख्न समेत निवेदन दिनुपर्ने अवस्था सिर्जना गरेको नेपालले बताए । नेता नेपालले भने, ‘तपाइँहरु पनि पीडित, हामी पनि पीडत, आज पीडित पीडित एक ठाउमा भेला भएका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here