म्यान्मारमा सुरक्षाफौजको गोली लागि एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु


२ चैत्र २०७७, सोमबार ०८:२४ मा प्रकाशित

काठमाडौँ । म्यान्मारमा सैन्य ‘कु’ विरूद्धको प्रदर्शनमा सहभागीमाथि सुरक्षाफौजले गोली चलाउँदा एकै दिन कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले गोली चलाउँदा कम्तीमा ३८ जना प्रदर्शनकारीहरू मारिएको त्यहाँका अभियानकर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आइतबारको यो घटना फेब्रुअरी १ मा सैन्य ‘कु’ भएयताकै सबैभन्दा घातक भएको एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले जनाएको छ ।

एएपीपीका अनुसार मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएका छन् भने अन्यको देशका विभिन्न भागमा मृत्यु भएको छ ।

याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको दाबी गरिएको छ ।

गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर एक वर्ष संकटकाल लगाए पनि म्यान्मारभरी सामूहिक प्रदर्शन जारी छन् ।

प्रदर्शनकारीहरूले सेनाले सत्ता हातमा लिएपछि नियन्त्रणमा लिइएकी नेत्री आङ सान सू चीसहित निर्वाचित सरकारका नेताहरूलाई रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन् ।

गत नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै त्यहाँको सेनाले शक्ति हातमा लिएको हो । सो चुनावमा सू चीको दल न्याश्नल डेमोक्र्याटिक पार्टी बिजयी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here