लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट, घटनास्थलमा गोइत समूहको पर्चा


१ चैत्र २०७७, आईतवार १५:०० मा प्रकाशित

सिरहा । सिरहाको लाहन नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् ।

घाइते दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिए ।

‘ठूलो आवज आएपछि हामी त्यस तर्फ जाँदै छौँ,’ प्रमुख राजभण्डारीले भने,‘अहिले केही घाइते हनुभएको जानकारी आएको छ । ’  विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

घटनास्थलमा गोइत समूहको पर्चा भेट्यो

घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको छ । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार घटना स्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा भेटिएको हो ।

बम विस्फोट भएको कार्यालयको पहिलो तल्ला स्थित टुक्रा टुक्रा भएको मोर्चाको पर्चा भेटिएको छ । विस्फोटक पदार्थ रहेको झोलामै पर्चा राखिएको थियो वा अन्य ठाउँमा यसबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

पर्चामा अध्यक्षको तलतिर जयकृष्ण गोइतको हस्ताक्षर छ । पर्चामा लेखिएका हरफहरु प्रष्ट पढ्न नसकिनेगरी टुक्रा टुक्रा भएका छन । टुक्रा टुक्रा परेको पर्चा जाडेर प्रहरीले अनुसन्धान गरिरहेका छन् ।

विस्फोटबाट घाइते कार्यालयका नायब सुब्बा शिवकुमार यादवलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here