झापा । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ।
मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
भगवान श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न झापाको अर्जुनधारा धाम, काठमाडौंको पशुपतिनाथ लगायत आज देशभरका विभिन्न धार्मीक स्थलमा घुइँचो लाग्ने गर्दछ ।





