एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड


२१ फाल्गुन २०७७, शुक्रबार १३:१२ मा प्रकाशित

काठमाडौं । एसिड आक्रमणमा परेकी नेपालकी मुस्कान खातुनलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लुओसी) ले सम्मान गर्ने भएको छ ।

यही मार्च ८ मा भर्चुअल माध्यमबाट सो सम्मान वितरण गर्न लागिएको हो । अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङकनले खातुनलाई सो पुरस्कार वितरण गर्ने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय र मानवअधिकार, लैंगिक समानता र महिला सशक्तिकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलालाई यो सम्मान दिइने अमेरिकी दूतावासले जनाएको छ । यो पुरस्कार पाउने खातुन पहिलो नेपाली महिला हुन् ।

२०७६ भदौ २१ गते वीरगञ्जमा विद्यालय जाने क्रममा खातुनमाथि एसिड आक्रमण भएको थियो । वीरगञ्जस्थित गणेशमान सिंह चोकमा १६ वर्षका सम्साद मियाँ हजामले खातुनमाथि एसिड प्रहार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here