ताप्लेजुङको दोभान बजार आगलागी अपडेटः ४९ घर जले, ५५ परिवार विस्थापित


१८ फाल्गुन २०७७, मंगलवार १८:४८ मा प्रकाशित

सीताराम गुरागाईं
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्द्न गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार बिहानदेखि आगलागिमा ४९ घर जलेका छन् ।

त्यहाँ बस्ने ५५ परिवार विस्थापित भएका छन् । बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बुले जानकारी दिए ।

फुङलिङ र फिदिम नगरपालिकाको दमकल र एक्स्काभेटरको सहायताले आगो थप फैलनबाट रोकिएको थियो । आगो नियन्त्रण गर्न २ घर भत्काइएको थियो ।

‘४९ घर जलेको र त्यहाँ पसल व्यावसाय गरेर बस्ने सहित ५५ परिवार विस्थापित भएको प्रारम्भिक तथ्याङ्क छ ।,’ लिम्बुले भने, ‘एक्स्काभेटरले केहि घर भत्काएपछि बाँकी बजार जोगाउन सफल भयौं ।’ क्षति भएको घर र परिवार संख्या थपघट हुन सक्ने उनको भनाई छ । गाउँपालिकाले पिडीतलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले नगद राहत प्रदान गरेको छ ।

पिडीतलाई दोभानकै बाँकी रहेका घर, नजिकको खाली जग्गा र पाथीभरा मेमोरियल बोर्डिङ स्कुलमा बास बस्ने प्रबन्ध मिलाउने निर्णय भएको छ,’ गाउँपालिकाका प्रवक्ता सूर्य बराइलीले भने, ‘क्षतिको आधिकारिक विवरण संकलन गर्न गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बर आङ्देम्बेको अध्यक्षतामा समिति गठन गरेका छौं ।’ रेडक्रसले पाल, कम्बल र भाँडाकुडा उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता सूर्य बराइलीले बताए ।

बिहान ९ः१५ बजेतिर आगलागि सुरु भएको हो । भोला पौडेलको घरबाट सल्किएको स्थानीय गोपाल खवासको भनाई छ । स्थानीय व्यावसायी गंगाराम गुरागाईंका अनुसार तुरुन्त आगो फैलिएकाले स्थानीयले घरभित्रका सामान निकाल्न भ्याएनन् ।

‘एक्कासी आगो फैलियो मालसामान, कागजात केहि निकाल्न पाइएन,’ गुरागाईंले भने, ‘भागेर ज्यान चाहिँ जोगायौं ।’ बजारका करिब ५० घर जोगिए पनि अहिले आगो नजिकको खाम्लुङ भिरतर्फ सल्किएको छ । त्यसले साक्फारा बस्तीमा जोखिम हुन सक्ने वडाध्यक्ष गणेश भण्डारी बताउँछन् ।

आगो निभाउन नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीय खटिएको ताप्लेजुङका प्रहरी प्रमुख बालनरसिंह राणाले बताए । विद्युत् सर्ट भएको आगो सुरु भएको प्रारम्भिक जानकारी रहेको राणाको भनाई छ । दोभान जिल्लाको साविक क्षेत्र नं २ का सबै गाउँ जोड्ने व्यापारिक केन्द्र हो । तमोर र मैवा नदीको किनारमा रहेको छ ।

वर्षेनी दुई तिरबाट नदीको कटानको मारमा पर्दै आएका दोभानका स्थाानीय आगलागिको चपेटामा समेत परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here