काठमाडौं । अदालतको अवहेलनासम्बन्धी रिट उपर सर्वोच्चद्वारा जारी निर्देशन पालना गर्दै नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।
अध्यक्ष प्रचण्ड आइतबार सर्वोच्चमा पुगेर लिखित जवाफ पेश गरेका हुन् । प्रचण्डले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको लिखित जवाफमा उल्लेख गर्नु भएको बताइएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो ।
सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । सोही आदेशअनुसार प्रचण्ड लिखित जवाफसहित सर्वोच्चमा उपस्थिति हुनुभएको उहाको नीजि सचिवालयले जनाएको छ ।
सर्वोच्चले आफ्नो पक्षमा निर्णय गरेन भने आँधीहुरी ल्याउँछौं भन्दै प्रचण्डले भृकटीमण्डपको आमसभामा बोलेको कुराले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।





