प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउँदै


१६ फाल्गुन २०७७, आईतवार ०८:२० मा प्रकाशित

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओली पहिलो पटक झापा आउन लागेका हुन्।

प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन–नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क)को शिलान्यास कार्यक्रममा आउन लागेको बताइएको छ।

औद्योगिक पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा बन्न लागेको छ। एक हजार ६०० हेक्टरमा बन्ने औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर ९६३ अर्ब २१ करोड रुपैयाँ० लगानी गरेर निर्माण कार्य हुनेछ। औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ। पार्क चिनियाँ सहयोगमा निर्माण हुन लागेको हो।

त्यसैगरी प्रधानमन्त्री ओलीले दमक नगरपालिका–१ बाट चुलाचुली जोड्ने रतुवा खोलाको पुल उद्घाटन, मदन भण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतारादेखि झापाको बाहुनडाँगीसम्मका खोलाहरूमा निर्माण हुने अन्दाजी तीन दर्जन पुलको दमकस्थित बेलडाँगी रतुवा खोलाबाट संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here