‘मसँग संघलाई नेतृत्व गर्ने क्षमता छ’अर्जुनकुमार मैनाली


१५ फाल्गुन २०७७, शनिबार १९:४६ मा प्रकाशित

झापा ।    विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन (आइतबार) भोली हुँदै छ ।चुनावी प्रचार प्रसारको समय सकिएपनि उम्मेद्वारहरु आन्तरिक रुपमा भोट माग्न व्यस्त छन् ।चुनावी मैदानमा लोकतान्त्रिक व्यावसायिक र संयुक्त व्यावसायिक गरी दुईवटा प्यानल उत्रिएका छन् ।दुवै प्यानलबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।लोकतान्त्रिक प्यानलका अधिकांश उम्मेद्वार दोहोरिएका छन् भने संयुक्त प्यानलका तर्फबाट नयाँ अनुहारहरुको उम्मेद्वारी परेको छ ।
संयुक्त व्यावसायिक प्यानलका तर्फबाट महासचिव पदमा उम्मेद्वारी दिएका अर्जुनकुमार मैनाली पनि बिर्तामोड उद्योग वाणिजय संघका लागि नयाँ अनुहार हुन् ।तर, नयाँ उद्योगी व्यवसायी भने होइनन् ।उनी नयाँ जोश जाँगर र हौसलासहित चुनावी मैदानमा उत्रिएका छन् ।

विगत १२ वर्षदेखि उत्पादनमूलक उद्योग संचालन गर्दै आएका बिर्तामोड १ निवासी व्यवसायी मैनाली एक दर्जनजति उद्योग व्यवसायमा संलग्न छन् ।उनी पाथीभरा स्टील इन्डष्ट्रिज,कावेली सिमेन्ट उद्योग, ओमकार रेडिमिक्स कंक्रिट प्रालि,ओम कास्टिङ उद्योग,ओम जलेश्वर उद्योग,बीएण्डबी ट्रेड प्रालि , गरिमा पल्टिपर्पोज,सौर्य हार्डवेयरलगायतका उद्योग व्यवसायमा आवद्व छन् ।

त्यस्तै उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छन् । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका उनी संस्थापक अध्यक्ष हुन् भने डाइनामिक क्लब झापाको नेतृत्व गर्दै आएका छन् ।त्यस्तै उद्योग परिसंघ र झापा वन पैदावर संघको सदस्य रहेका छन् ।मतदाता सदस्यको हैसियतले उनी २०६९ सालदेखि बिर्तामोड उद्योग वाणिज्य संघमा आवद्ध भएका छन् ।उद्योग वाणिज्य संघको निर्वाचनमा केन्द्रित भएर उनीसँग गरिएको कुराकानीको सारसंक्षेप यस्तो छ ।

– तपाईले संयुक्त व्यावसायिक प्यानलबाट महासचिव पदमा उम्मेद्वारी दिनु भयो । महासचिव पद नै रोज्नुको कारण ?

प्रश्नका लागि धन्यवाद ।हैन शुरुमा मैले अध्यक्ष पद खोजेको थिएँ । त्यो पद नपाएपछि महासचिव पदमा उम्मेद्वारी दिएको हुँ । कुनै पनि संघसंस्थामा आवद्ध हुन खोज्दा आफूसँग निहीत कार्यक्षमतालाई महसुस गर्नु पर्छ ।मसँग बिर्तामोड उद्योग वाणिज्य संघलाई नेतृत्व गर्ने क्षमता छ जस्तो लाग्छ । मसँग इच्छा शक्ति छ । कुशलतापूर्वक कार्यसम्पादन गर्न सक्छु भन्ने आत्मविश्वास छ । विगत ४० वर्षदेखि एउटै समूहले एकपक्षीय ढंगले विरासत कायम गरेर मनोमानी गरेका छन् । वाणिज्य संघलाई राजनीतिको अखडा बनाएका छन् ।त्यसलाई तोड्न जरुरी छ ।४० वर्षसम्म हुन नसकेका बाँकी कामहरुलाई पुरा गर्नु पनि छ ।

–वर्तमान नेतृत्वले के के काम गर्न बाँकी छोडेको जस्तो लाग्छ ?

पूर्वकै व्यापारिक हब बन्दै गएको बिर्तामोडमा व्यापार व्यवसायको क्षेत्रमा धेरै काम गर्न बाँकी छन् । यत्रो जनघनत्व भएको शहरमा एउटै सार्वजनिक शौचालय छैन ।पार्किङको व्यवस्था छैन । सडक वत्ती छैन ।नाइट भिजन,सीसीटिभीको व्यवस्था छैन । माग बढ्दै गएपनि रात्रिकालीन बजार लगाउन सकेको छैन । वस्तुगत व्यापारीका समस्या धेरै छन् । त्यसतर्फ वाणिज्य संघले ध्यान दिन सकेको छैन ।
–यी चुनावी प्रतिवद्धता त यहाँको प्यानलले नै उठाएको हो , तपाईको आफ्नो निजी भिजन पनि त होला नि ?
मैले भारतमा गएर इन्भेस्ट एण्ड रिस्क एनलाइसिस्मा दुईवर्षे कोर्स गरेको छु । १० हजारदेखि १ लाख रुपैयाँसम्म लगानी गरेर १५० प्रकृतिका व्यवसायमा १०–१० जनाका दरले उत्प्रेरित गर्न सक्दा १५०० जनालाई रोजगारी दिन सक्छौं । जसबाट आर्थिक वृद्धिसँगै बेरोजगारको समस्या पनि समाधान हुने छ । दोस्रो र तेस्रो मुलुकबाट आयातलाई न्यूनीकरण गर्न सक्छौं ।

– पुराना टीममा बसेकाहरुसँग अनुभव र दक्षता छ विल्कुलै नयाँ अनुहारसँग के अपेक्षा गर्न सकिन्छ ?

हामीले २६ बुँदे चुनावी घोषणापत्र जारी गरेका छौं ।त्यसमा विभिन्न मुद्धालाई उठाएका छां ।वर्षौदेखिको एकलौटी विरासतका कारण व्यवसायीमा जुन वितृष्णा र नैराश्यता छ, त्यो हुन नदिनेमा हामी बिश्वास दिलाउन चाहन्छौं ।हाम्रो साझा प्रतिवद्धता जुन छ,त्यो पूरा गर्न हामी कटिवद्ध छौं ।

–वाणिज्य संघको निर्वाचनलाई राजनीतिक रुपमा निरपेक्ष बनाउन सकिदैनथ्यो ?

राजनीति र व्यवसायमा अन्तर छ ।तर ,व्यवसायीहरु राजनीतिभन्दा टाढा रहन सक्दैनन् ।हरेक क्षेत्र राजनीबिाट निर्देशित छ ।तर,म हरेक कुरालाई राजनीतिक प्लेटफर्म बनाउनु पर्छ भन्ने मान्दिन ।

–तपाई त ठूलो उद्योगी हुनुहुन्छ चुनावमा निकै नै खर्च गर्नु हुन्छ होला ?

पैसा खर्च गरेरै चुनाव जित्न सकिन्छ भन्ने मान्यता म राख्दिन ।धेरै उद्योग व्यवसाय भएकाले टर्नओभर ११ सय करोड जति होला ।त्यसमा ४०० करोड ऋण छ ।म धेरै खर्च गर्दिन । भोट किन्ने कुरा आउँदैन ।यसो २–४ लाख खर्च हुन्छ जुन स्वाभाविक पनि हो ।

– अन्त्यमा ,तपाईको जित्ने आधार के हो ? मतदाताले तपाईलाई किन भोट दिनु पर्ने ?

मसँग व्यवसायीको हकहितका लागि कुशलतापूर्वक काम गर्ने क्षमता छ ।अर्को कुरा निर्वाचन अर्थात व्यालेटलाई म युद्धसरह लिन्छु ।युद्धमा होमिसकेकाले जितेरै छोड्ने दृढ आत्मबिश्वास छ ।अघिल्ला कार्यसमितिले गरेका विभेदपूर्ण कार्यलाई हामी अन्त्य गर्छौं ।साना व्यवसायीहरुले भोग्दै आएको समस्या समाधान गर्छौं ।सार्वजनिक शौचालयलगायतका भौतिक समस्यालाई निराकरण गर्छौं ।४० वर्षसम्म त्यही एउटै समूहले गरेको काम मतदाताहरुले हेरिसकेका छन् ।कुर्सीको राजनीतिबाहेक अरु केही गरेनन् ।त्यसैले अब परिवर्तनको खाँचो छ ।वाणिज्य संघमा रुपान्तरण चाहने हो भने आममतदाताहरुलाई महासचिव पदको उम्मेद्वार म अर्जुनकुमार मैनालीसहित हाम्रो सिंगो संयुक्त प्यानललाई अत्याधिक मतले विजय गराउन हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here