काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। आज विहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद् बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक सुरक्षा विषय, देशमा विकसित भएका पछिल्ला घटनाक्रम लगायत विषयमा छलफल हुने बताइएको छ। बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको सहभागिता हुनेछ।
प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ। सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ।
त्यसलगत्तै आजै मन्त्रिपरिषदको बैठक बस्नेछ। विहान १० बजे मन्त्रिपरिषदको बैठक पनि डाकिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।





