कोरोना खोप आज काठमाडौं आईपुग्दै


८ माघ २०७७, बिहीबार ०९:०५ मा प्रकाशित

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान ११ बजे एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको पहिलो खोप आउने छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई खोप हस्तान्तरण गरिने छ।

विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ।

भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो। अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो।

तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने मन्त्रालयले जनाएको छ। १० देखि १५ दिनमा खोप लगाउन सुरु गर्ने योजना मन्त्रालयको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here