विर्तामोड । क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष तथा उपाध्यक्ष विर्तामोड–२ का खतिवडा दम्पत्तिले आफ्नो रजत विवाह वर्षगाठको अवसरमा सामाजिक कार्य गरेका छन् ।
क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष, रंगकर्मी तथा अभियन्ता माधव कल्पित र क्षितिज नाट्य समूह झापाकी केन्द्रीय उपाध्यक्ष चलचित्रकर्मी तथा कलाकार सुजना खतिवडाले कलाकारिता पुरस्कार स्थापना, मृगौलापीडितलाई सहयोग र कलाकार कल्याणकारी कोषमा रकम सहयोग गरेर मनाएका हुन् ।
विर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा आयोजित कार्यक्रममा खतिवडा दाम्पत्तिले स्व. पिता अविचन्द्र खतिवडा र स्व. माता रत्नकुमारी खतिवडाको स्मृतिमा गठित अवि–रत्न स्मृति प्रतिष्ठानको नाममा स्थापना गरिएको कलाकारिता क्षेत्र पुरस्कारका लागि ५१ हजार राशीको अक्षयकोष स्थापना गरेको घोषणा गरेका थिए ।
क्षितिज नाट्य समूह झापाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी र विश्व हिन्दू महासंघका धु्रवप्रसाद शिवाकोटीलाई खतिवडा दम्पत्तिले कलाकारिता क्षेत्र पुरस्कारको अक्षयकोषका लागि ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
त्यस्तै सरगम संगीतालय विर्तामोडले स्थापना गरेको कलाकार कल्याणकारी कोषका लागि खतिवडा दम्पत्तिले पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका थिए । खतिवडा दम्पत्तिले उक्त रकम सरगम संगीतालय बिर्तामोडका प्रबन्ध निर्देशक दीपक रायमाझीलाई हस्तान्तरण गरेका थिए ।
त्यस्तै खतिवडा दम्पत्तिले विर्तामोड–४ का मृगौलापीडित वरिष्ठ बाद्यवादक फुर्वा योञ्जनको उपचारका लागि पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका थिए । उक्त रकम खतिवडा दम्पत्तिले साहित्य चौतारी विर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष हस्त परियार, सहसचिव देवीचरण भण्डारीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा क्षितिज संगीत साधना प्रतिष्ठान झापाका कलाकारहरुले रंगकर्मी माधव कल्पितकै रचना रहेको स्वागत गीतले स्वागत गरेका थिए ।
कार्यक्रममा सांसद विमला विक, नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एकराज गिरी, अर्जुनधारा–५ का वडाध्यक्ष ध्यानबहादुर भारती, विर्तामोड–१ का वडा सदस्य प्रेमकुमार खरेल, झापाली समाज युएईका अध्यक्ष दुर्गेश सापकोटा, साहित्य चौतारी झापाका संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष हस्त परियार, उपाध्यक्ष विमला चिमरिया, सह–सचिव देवीचरण भण्डारी, विश्व हिन्दू महासंघका धु्रवप्रसाद शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, महासचिव प्रशान्त भण्डारी लगायतले वरवधुलाई आशीर्वाद दिएका थिए ।
कार्यक्रममा सरगम संगीतालय, क्षितिज संगीत साधना प्रतिष्ठान लगायतका कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए भने कलाकार माधव भेटवालले शिव ताण्डव नृत्य र कृष्ण लीला झाँकी प्रस्तुत गरेका थिए ।





