दिल्लीलाई ५७ रनले हराउँदै मुम्बई आइपिएलको फाइनलमा


२१ कार्तिक २०७७, शुक्रबार ०९:०२ मा प्रकाशित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इण्डियन्स फाइनलमा पुगेको छ।

मुम्बईले दिएको २०१ रनको लक्ष्य पछाएको दिल्ली क्यापिटल्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन मात्र बनाएपछि मुम्बईले ५७ रनले जितेको हो।

२०१ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निकै खराब शुरुवात गरेको थियो। दिल्लीले आफ्ना शुरुका ३ विकेट शुन्य रनमा गुमाएको थियो।

पृथ्वी शा, शेखर धवन र आजिक्य रहाणे शुन्यमै आउट भए। दिल्लीका लागि मार्कोस स्टोइनिसले ६५ रन बनाएका थिए भने अक्षर पटेलले ४२ रन र रिषभ पन्तले ३ रन बनाए।

मुम्बईका बलर जसप्रित बुमराहले ४ विकेट लिए। बुमराहले ४ ओभरमा एक मेडनसहित १४ रन दिएर ४ विकेट लिएका थिए। त्यस्तै ट्रेन्ट बोल्टले २ ओभरमा एक मेडनसहित ९ रन दिएर २ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २०० रन बनाएको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले ५१ रन बनाए भने क्विन्टन डिककले २५ बलमा ४० रनको योगदान दिए। त्यस्तै इशान किशनले ३० बलमा ५५ रन बनाएर अविजित रहे। दिल्लीका बलर आर आश्विनले ३ विकेट लिएका थिए।

यो जितपछि मुम्बई इण्डियन्स आइपिएलको फाइनलमा पुगेको छ । पराजित भएको दिल्लीले भने दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ।।

दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादबीचको विजेतासँग खेल्ने छ। इलिमिनेटर खेल आज हुँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here