काठमाडौं । फिलिपिन्समा आएको गोनी आँधीका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
दक्षिणी फिलिपिन्सको आइपुइ लुजनको मुख्य टापुमा आएको शक्तिशाली आँधीका कारण अल्बे प्रान्तका ९ जना र एक जनाको क्यान्डुआनेस टापुमा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । फिलिपिन्सको मौसम विभागका अनुसार करिब चार लाख सर्वसाधारण विस्थापित भएका छन् ।
बिस्थापितहरुमध्ये तीन लाख भन्दा बढी सरकारी आवासहरुमा बस्दै आएको अधिकारीहरुले जनाएका छन् ।
२२५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले विभिन्न भौतिक संरचनाहरुमा क्षति गरेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
आँधीका कारण पहाडी क्षेत्रमा गएको पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । गोनी यस वर्ष फिलिपिन्समा आएको १८ औं आधी रहेको मौसम विभागले जनाएको छ ।
गत हप्ता मात्र आएको मोलाभ आँधीमा परेर २२ जनाको मृत्यु भएको थियो । आँधीका कारण फिलिपिन्सका ग्रामिण क्षेत्रमा लगाइएको हजारौं हेक्टर कृषि उत्पादन नस्ट भएको बताइएको छ ।
आँधीका कारण फिलिपिन्समा हरेक वर्ष जुनदेखि डिसेम्बरसम्म हजारौं प्रभावित हुने गरेका छन् । आँधीका कारण सयौंको ज्यान जाने गरेको छ भने लाखौं डलर बराबरको क्षति हुने गरेको छ ।





