कांग्रेसका शीर्ष नेताहरूबीच बैठक बस्दै


१७ कार्तिक २०७७, सोमबार ०९:१९ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवाविरुद्ध दर्ता गरेको विरोध पत्रबारे छलफल गर्न देउवाले आज वर्तमान पदाधिकारी तथा पूर्व पदाधिकारीहरूलाई बोलाएका हुन्।

आजको बैठकमा गत असोज १२ गते वरिष्ठ नेता रामचन्द्र पौडेलसहित​ महामन्त्री डा. शशांक कोइराला लगायत २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेर ‘पार्टी विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सृजना गरियोस्’ भनेर दर्ता गरेको विरोध पत्रमाथि छलफल हुनेछ।

कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार आज बस्ने बैठकमा पौडेल समूहले बुझाएको पत्रका विषयसँगै महाधिवेशनका विषयमा केन्द्रीय समितिमा छलफल गर्ने एजेण्डा तय गर्न र कोरोना महामारी नियन्त्रणमा सरकारलाई आगामी दिनमा कसरी खबरदारी गर्ने भन्ने रणनीति बनाउनेबारे छलफल हुनेछ।

कांग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्नेगरी तोकिएको छ। यद्यपी फागुनमा महाधिवेशन नहुने लगभग पक्का छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here