एसएसपीलाई धम्की दिने विप्लव समूहको ललितपुर सेक्रेटरी पक्राउ


१६ कार्तिक २०७७, आईतवार १२:३६ मा प्रकाशित

काठमाडौं । ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेतृ पक्राउ परेकी छन् ।

ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी)लाई प्रहरीले पक्राउ गरेको हो । ललितपुरमा आज कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित पक्राउ गरिएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।

गत जेठ महिनामा ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई नेतृत्वको टोलीले विप्लव समूहका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्यलाई पक्राउ गर्दै उनको कोठाबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद गरेको थियो । त्यसपछि ललितपुर जिल्ला सेक्रेटरी विदुषीले विज्ञप्ति निकालेर एसएसपी राईलाई धरपकड नगर्न धम्की दिएकी थिइन् ।

‘जनताको सामान्य नागरिक भएर बाँच्ने अधिकारको हनन् गर्ने, नागरिकको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा, एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने, घर घर्ने घरपकड गर्ने तथा शारीरिक, मानसिक यातना दिने काम तुरुन्त रोक्न’ विज्ञप्तिमार्फत् भनिएको थियो ।

प्रहरीले पक्राउ गरेका बज्राचार्य भने लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको सो विज्ञप्तिमा उल्लेख थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here