काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कार्तिक १७ गतेका लागि देउवाले शीर्षस्थ नेताहरुसँग छलफल गर्न बैठक बोलाएका हुन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी कार्तिक २१ गतेलाई बोलाइएको छ ।
केन्द्रीय समिति बैठकमा हुने छलफल र महाधिवेशनमा कसरी जाने भन्ने विषयमा छलफल गर्न शीर्षस्थ नेताहरुको बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए ।
यसअघि तय गरिएको बैठक कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएपछि पुनः बैठक बोलाइएको हो । महतका अनुसार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले बुझाएको विरोधपत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ ।
सभापति देउवाले महाधिवेशनको मिति तय भइसकेपछि पनि एकलौटी रुपमा विभिन्न विभागहरु गठन गरेको, क्रियाशील सदस्यता वितरणलगायत विषयमा पौडेल पक्षले विरोध जनाउँदै आइरहेको छ । १२ असोजमा केन्द्रीय पार्टी कार्यालयमा पौडेल समूहले सभापति देउवालाई विरोधपत्र समेत बुझाएको थियो ।
शीर्ष नेताहरुको बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने एजेण्डा तय गर्ने बताइएको छ । केन्द्रीय समितिको बैठक अगावै आफूहरुले अघि सारेका विषयहरु समाधान हुनुपर्ने पौडेल पक्षको माग छ ।





