प्रेमिकाको विषयमा तीन प्रेमीबीच झगडा, एक जनाले ज्यानै गुमाए


९ कार्तिक २०७७, आईतवार १८:३७ मा प्रकाशित

भक्तपुर । प्रेमिकाको विषयलाई लिएर भएको विवादले झडपको रुप लिँदा एक जनाको ज्यान गएको छ।

भक्तपुर नगरपालिका–१ इटापाकेस्थित दुवाल मेटल कारखानामा काम गर्ने भारतीय मजदुरबीच विवाद भएको थियो। जहाँ झडप हुँदा भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भई सोही कारखानामा पित्तलको भाँडा बनाउने ३५ वर्षीय शाहिव हुसैनको ज्यान गएको हो।

प्रहरीले शाहिवको हत्या आरोपमा शाहिवसँगै काम गर्ने दुई जना भरतीय मजदुरहरु भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल दुवाल मेटल कारखाना बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई सोही कारखाना बस्ने २३ वर्षीय सलमान खानलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सँगै बसी मदिरा सेवन गरी शनिबार राति ९ बजे कारखाना फर्कने क्रममा शाहिव, सानु र सलमानबीच प्रेमिकाको विषयमा विवाद भएको प्रहरीले बताएको छ।

सोही क्रममा अनुचित शब्दहरु बालेपछि सानु र सलमानले शाहिदको अनुहार र टाउकोमा ढुंगाले प्रहार गरी हत्या गरेका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रहरीले घटनाको अनुसन्धानको लागि तालिमप्राप्त दुई वटा कुकुरसमेत परिचालन गरेको थियो। सुरुमा पहिचान नखुलेको शवको अनुसन्धान गर्दै जाँदा शाहिदको भन्ने खुल्न आएपछि मृतकसँगै काम गर्ने सलमान र सानुलाई नियन्त्रणमा लिएको प्रनाउ गिरीले बताए।

प्रहरीले सलमान र सानुको कोठामा खानतलासी गर्दा दुवै जनाको कोठाहरुबाट रगत लागेको लुगा र जुत्ता फेला परेको र दुवै जनाले ग्रर्लफ्रेण्डको विषयमा विवाद भई झडप हुँदा शाहिदको हत्या हुन पुगेको बयान दिएको जानकारी दिए।

शव पोस्ट मार्टमका लागि भक्तपुर अस्पताल पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here