काठमाडौं । बाँके र दाङमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेको नेपालगञ्जमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका –१, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
असोज २६ गते कोरोना पुष्टि भएपछि असोज २७ मा भेरी अस्पतालमा भर्ना भएका ५० वर्षीय पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
यस्तै, होम आइसोलेसनमा बसेका दाङका एक संक्रमित पुरूषको पनि मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ घर भएका ५३ वर्षीय संक्रमित पुरुषको शुक्रबार होम आइसोलेसनमै मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीले जानकारी दिएको छ ।
ती पुरूष मालपोत कार्यालय घोराहीमा कार्यरत रहेको समेत खुलेको छ । उनमा कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।





