विर्तामोड । झापाको विर्तामोड नगरपालिकाले आजबाट कोभिड अस्पताल संचलनमा ल्याएको छ ।
स्थानीय तहले आइसोलेसन सहितको कोभिड अस्पताल संचालन गर्नुपर्ने सरकारको निर्देशन अनुरुप विर्तामोड नगरपालिकाले कोभिड १९ आइसोलेसन अस्पताल संचालनमा ल्याएको हो ।
नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आज बिहान कोभिड अस्पतालको उद्घाटन गरेका हुन् ।
सरकारले स्थानीय तहले न्युनतम ५ देखि १५ वेड सम्मको आइसोलेसन अस्पताल संचालन गर्न दिएको निर्देशन पालना गर्दै नगरपालिकाले ५ वेडको आइसोलेसन अस्पताल संचालनमा ल्याएको नगरस्तरीय कोभिड १९ व्यवस्थापन तथा नियन्त्रण समितिका संयोजक ओम खड्काले जनकारी दिए ।
एकजना डाक्टर र २ जना नर्स सहितको चिकित्सक टिमले चौबिसै घण्टा सेवा प्रदान गर्ने अस्पतालमा उच्च जोखिममा रहेकाहरुलाई राखेर उपचार गराउने उनको भनाई छ ।
विर्तामोड नगरपालिकाको तथ्यांक अनुसार नगरमा हालसम्म १४७ जना संक्रमित भएका छन् । हाल ९३ जना होम आसोलेसन, ३ जना नगरले निर्माण गरेको आइसोलेसनमा र ३ जना अस्पतालमा उपचारर्त रहेको खड्काले जानकारी दिए ।
विर्तामोडमा हाल सम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।





