नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित


१८ आश्विन २०७७, आईतवार ०९:११ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अनिश्चित भएको छ ।

सोमबारको लागि बोलाइएको बैठकमा कोरोना जोखिम न्यूनिकरण गर्नका लागि भन्दै कांग्रेसले केन्द्रीय सदस्यहरु, पदाधिकारी, कार्यालयका कर्मचारी र नेताका सुरक्षाकर्मीको स्वाब परीक्षण गर्दा केही नेतालाई कोरोना पुष्टि भएसँगै बैठक अनिश्चित भएको हो।

गत बिहीबार कांग्रेस केन्द्रीय कार्यालयमै २४१ जनाको स्वाब संकलन गरिएको थियो। उक्त स्वाबको रिपोर्ट आउँदा ४ जना नेतालाई कोरोना संक्रमण पुष्टि भए पछि बैठक धकेलिएको हो।

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

सोमबार बस्ने बैठकमा आगामी फागुनमा हुने भनिएको महाधिवेशन मिति सार्ने तथा, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ध्यानाकर्षण गराएको पत्रमाथि छलफल हुने बताइएको थियो।

‘आज बिहान ९ बजे बस्ने पदाधिकारीहरूको बैठक पनि अब रोक्ने तयारी भइरहेको छ,’ पार्टी मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘वरिष्ठ नेता पौडेलले त बैठक रोक्नुपर्छ भनेर भनिसक्नु भएको छ ।
सभापति ज्यू पनि बैठक अहिले तत्कालै बस्न नहुने कुरा गर्नु भएकोले भोलिको बैठक बस्दैन होला। औपचारिक निर्णय दिउँसो विज्ञप्ती जारी भइहाल्छ।’

शनिबार पार्टी कार्यालयमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको छलफलमा पौडेल पक्षका २७ नेताले पार्टी कार्यालयमा दर्ता गरेको विरोध पत्र र महाधिवेशनको विषयमा छलफल भएपनि कुनै सहमति भने जुटेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here