भाउजुको हत्या आरोपमा देवर पक्राउ


१३ आश्विन २०७७, मंगलवार ०८:४३ मा प्रकाशित

लमजुङ। जिल्ला प्रहरी कार्यलय लमजुङले भाउजुको हत्या गरेको आरोपमा देवर नाता पर्ने एकजनालाई घटनाको २३ दिनपछि पक्राउ गरेको छ।

क्ब्होलासोंथर गाउँपालिका–९ गिलुङकी ५९ वर्षीया बिमाया भन्ने वुद्धिमाया विकलाई हत्या गरेको आरोपमा देवर नाता पर्ने गिलुङकै ५७ वर्षीय बिलबहादुर विकलाई पक्राउ गरेको प्रहरी प्रमुख एवं डिएसपी गंगाबहादुर थापाले जानकारी दिए।

गत भदौ २३ गते बिहान ७ बजे बुद्धिमाया आफ्नै घरमा मृत भेटिएकी थिइन्। प्रहरी नियन्त्रणमा रहेका बिलबहादुरले भदौ २० गते राति करिब ९ बजे बिमायालाई दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ।

जग्गासम्बन्धी विवादमा एकल महिला बिमायालाई बिलबहादुरले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाइएको डिएसपी थापाले बताए।

बिमायका छोराबुहारी मध्यनेपालको रामबजार बस्दै आएका छन् भने उनको पतिको पाँच वर्षअघि मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here