मन्त्रिपरिषद्को निर्णय : विदेशी ऋण लिन अध्ययन कार्यदल गठन


१३ आश्विन २०७७, मंगलवार ०८:२६ मा प्रकाशित

काठमाडौं । सरकारले विभिन्न दातृ निकायबाट २७ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण लिनको लागि अध्ययन कार्यदल गठन गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिए । मन्त्रिपरिषदले स्वास्थ्य क्षेत्रका लागि बेलायत सरकारले उपलब्ध गराउने थप ३ अर्ब ५२ करोड रुपैयाँ आर्थिक र प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको हो।

त्यसैगरी विश्व वातावरण सुविधा जीईईएफबाट प्रकृतिका लागि विश्वव्यापी कोष डब्ल्युडब्ल्युएफ र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीबाट प्राप्त हुने र वन मन्त्रालयबाट कार्यान्वयन हुने गरी विभिन्न आयोजनाका १४ दशमलव ५९ मिलियन डलर १ अर्ब ७५ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकले सशस्त्र प्रहरीको गोताखोरलाई १० लाखको बिमा गर्ने र प्रोत्साहन भत्ताबापत काममा खटिएको दिन तीन सयका दरले भत्ता दिने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए । त्यसैगरी कृषि अनुसन्धान परिषद् नार्क को कार्यकारी निर्देशकमा डा. दीपककुमार भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको बताए । सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाबीच सन्तुलनको आवश्यकताका कारणले धेरै क्षेत्र खुला गरेको ज्ञवालीको भनाई छ । उनले काठमाडौंमा घरधनी र केही औद्योगिक प्रतिष्ठानले पीसीआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य बनाएको भन्दै त्यस्तो नगर्न आग्रह गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here