झापा । झापाको मेचीनगर नगरपालिकामा आइतबार एकजना चिकित्सकसहित ५ जनामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
सवै नगरपालिकाको ६ र ७ नम्बर वडाका बासीन्दा हुन् । संक्रमण पुष्टि हुनेमा दुईजना सुरक्षकर्मीसमेत रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
शाखा संयोजक शशीकला राईका अनुसार मेचीनग ६ काँकरभिट्टाकी २३ वर्षीया एकमहिला छन् । उनी पेशाले चिकित्सक रहेको बताईएको छ । समाचार स्रोतका अनुसार उनी विर्तामोडस्थित विएण्डसी अस्पतालमा कार्यरत छिन् । विर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार त्यो अस्पतालमा कार्यरत उनीसहित ११ जना स्वास्थ्यकर्मीमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
यसअघि मेचीनगर १० धुलावारीमा रहेको आम्दा मेची अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको थियो । उनी निको भएर काम फर्केको शाखाले जनाएको छ । यसैगरी १८ वर्षीया एकमहिला, ३४ वर्षीय, ३८ वर्षीय र २५ वर्षका पुरुष रहेका छन् । ३४ वर्षीय र ३८ वर्षीय पुरुष सशस्त्र प्रहरी बल नेपाल कोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत सशस्त्र प्रहरी हुन भने वडानम्बर ७ का २५ वर्षका पुरुष होम क्वारेन्टाइनमा रहेका थिए । यसअघि सशस्त्र प्रहरी बल नेपाल कोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत ३२ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएपनि सवै निको भएर काममा आएका छन् ।
गएको १७ गते काँकरभिट्टाको सामुदायिक भवन होल्डिङ सेन्टरबाट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको टोलीले उनीहरुको पीसीआर परीक्षणका लागि ३७ जनाको थ्रोड स्वाब नमूना संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रो बायोलोजी विभागमा पठाएको थियो । ३७ मध्ये ५ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको राईले बताईन् । उनीहरुलाई अब आइसोलेसन सेन्टरमा राखिने तयारी छ । सोहि दिन जिल्ला स्वासथ्य कार्यालय झापाको टोलीले काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदान होल्डिङ्ग सेन्टरमा रहेका १६ जनाको पीसीआर परीक्षणका लागि थ्रोड स्वाब नमूना संकलन गरे पनि नतिजा आउन बाँकी छ ।
यसैगरी, विर्तामोडस्थित विएण्डसी अस्पतालमा कार्यरत १० महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ओम खड्काले बताए । उनका अनुसार २० देखि २५ वर्ष उमेर समुहका ८ र २५ देखि ३० वर्ष उमेर समुहका ४ जनामा संक्रमण पुष्टि भएको हो । भदौ १८ गते १४ जनाको अस्पतालबाटै पीसीआर परीक्षणका लागि थ्रोड स्वाब नमूना संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रो बायोलोजी विभागमा पठाएको थियो । १४ मध्ये १२ जनाको रिपोट पोजेटिभ आएको खड्काको भनाई छ ।
यसपछि अहिले अस्पताल र विर्तामोड नगरपालिकाबीच छलफल गरेर थप कार्यलाई अघि बढाउने बताईएको छ । केहबेरमा अस्पताल प्रशासन र विर्तामोड नगरपालिकाबीच नगरपालिकामा छलफल शुरु हुने छ । यसका लागि अस्पताल सञ्चालकसहित अस्पतालका प्रमुखर प्रशासन प्रमुख समेतलाई खवर गरिएको खड्काले बताए ।





