काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट एक थप ८ जनाको मृत्यु भएको छ । पर्सामा ३, ललितपुरमा २, कास्की र रुपन्देहीमा दुई जनाको मृत्यु भएको हो।
पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना संक्रमित एक गर्भवतीको मृत्यु भएको छ। ३३ हप्ताकी गर्भवती २३ वर्षीया संक्रमितको आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. आतुलेश चौरसियाले जानकारी दिए।
यस्तै, पर्साको धोबीनी गाउँपालिका ३ का ७२ वर्षीय पुरुषको हिजो बेलुकी नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रवक्ता चौरसियाले बताए। उनी भदौ ८ गते अस्पताल भर्ना भएका थिए।
यस्तै पर्साकै वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको मृत्यु पनि मृत्यु भएको छ। अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
यसैबीच, ललितपुरको किस्ट अस्पतालमा अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनलाई भदौ ७ गते अस्पतालमा भर्ना गरिएको र ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्थायी घर अर्घाखाँची भएका उनी काठमाडौंमै बस्दै आएका थिए।
ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर रवी शाक्यका अनुसार उनको गएराति कोभिड वार्डमा निधन भएको र स्वाब संकलन गरेर परीक्षण गर्दा आज बिहान रिर्पोट पोजेटिभ आएको हो।
कास्कीको पोखरामा कोरोना संक्रमित एक महिलाको पनि मृत्यु भएको छ। भदौ ७ गते कोरोना पुष्टि भएकी पोखरा महानगरपालिकाकी ३२ वर्षीया महिलाको आज विहान ८ बजे उपचारका क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
त्यसैगरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ। उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
त्यस्तै रुपन्देहीमा कोरोना संक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालको आइसीयुमा उपचारत तिलोत्तमा नगरपालिकार–२ शंकरनगर निवासी उनको आज विहान साढे १० बजे मृत्यु भएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए।





