विभिन्न १० बुँदे माग राख्दै प्रदर्शन : झापा गाउँपालिकाको विवाद साम्य भएन, गौहत्या गर्ने आरोपी बिना सर्त रिहा


११ भाद्र २०७७, बिहीबार १३:२५ मा प्रकाशित

भद्रपुर। गौहत्या गर्ने आरोपीद्धयलाई बिना सर्त प्रहरीले रिहा गरेपनि झापा गाउँपालिका–३ स्थित कामाटोलीमा उत्पन्न विवाद साम्य भएको छैन । प्रहरी र स्थानीय बिच बुधवार साँझ झडपको क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गाउँपालिका ३ बस्ने बस्ने ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएपछि गाउँवासी झन् आक्रोशित बनेका छन् ।

स्थानीय मुस्लिम समुदायले विभिन्न १० बुँदे माग राख्दै कामाटोलीमा प्रदर्शन गरिरहेका छन् । स्थानीय गाउँले बाटो अवरोध गरी टायर बालेर प्रदर्शन गरिरहेका छन् । माग सम्बोधन नभएपछि प्रदर्शन जारी राख्ने बताइएको छ । यता गोली लागेर मृत्यु भएको आलमको शव बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमै राखिएको छ । अहिलेसम्म शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर ल्याइएको छैन ।

इलाका प्रहरी कार्यालय कुमरखोदले बाछो काटेको आरोपमा मङ्गलवार दिउँसो सोही गाउँपालिका ३ कटुवामारीका ५२ वर्षीय अब्दुल आलम र सोही ठाउँका ५० वर्षीय ताजबुल आलमलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका आलमद्धय छाड्नु पर्छ भन्दै त्यहाँका गाउँवासीले बुधवार साँझ सुरक्षाकर्मीमाथि नै आक्रमण गरेका थिए । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउन लाग्दा स्थानीय मुस्लिम समुदायले सडकमा अवरोध गरेका थिए ।

अवरोध गरेका गाउँले प्रहरीमाथि आक्रमण गरेपछि स्थितिलाई सामान्य बनाउन प्रतिकारमा सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका सोही ठाउँ बस्ने ३८ वर्षीय आलमको मृत्यु भयो । पिठीयुमा दुई वटा गोली लागेका आलमको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा बुधवार राती नै मृत्यु भएको थियो ।

प्रहरीको गोली लागेर आलमको मृत्यु पश्चात् कामाटोलीको अवस्था झन् जटिल बन्यो । त्यहाँ गाउँवासीले राती पनि सडकमा टायर बालेर प्रहरीविरुद्ध नाराबाजीमा उत्रिए । त्यसपश्चात् घटनालाई सामान्य बनाउन झापाका प्रहरी, प्रशासनले गौहत्याका आरोपी आलमद्धयलाई बिना सर्त छाडिदिए । झापा गाउँपालिका अध्यक्ष जयनारायण साह र उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीको रोहवरमा उनीहरूलाई प्रहरीले रिहा गरी दिए। झापा गाउँपालिका अध्यक्ष साह र उपाध्यक्ष बुढाथोकी, पीडित पक्षको उपस्थितिमा जिल्लाका प्रहरी, प्रशासन प्रमुखहरूले घटना सामान्य बनाउन छलफल गरेका थिए ।

सोही छलफल पश्चात् उनीहरूलाई रिहा गरिएको हो । छलफलमा पीडित पक्षले १० बुँदे माग समेत राखेका छन् । छलफलमा स्थानीय मुस्लिम समुदायले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, १० लाख रुपैयाँ राहत दिनुपर्ने, परिवारलाई शिक्षासहित रोजगारको व्यवस्था गर्नुपर्ने, सशस्त्र र नेपाल प्रहरीका दुवै प्रहरी निरीक्षकलाई कारबाही गर्नुपर्ने, प्रहरीको ज्यादती बन्द गर्नुपर्ने लगायतका माग राखेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here