भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या लुकाइएको आशंका


५ भाद्र २०७७, शुक्रबार १३:३६ मा प्रकाशित

काठमाण्डौ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या लुकाइएको आशंका गरिएको छ ।

कोरोनाका कारण ज्यान गुमाउने सबैलाई गणना नगर्दा ज्यान गुमाउनेको सङ्ख्या कम देखिएको विज्ञहरुले बताएका छन् । कतिपय राज्यले कोरोना भएर ज्यान गुमाएकाहरूमा पहिले रहेको रोगका कारण ज्यान गएको बताउने गरेका बीबीसीले जनाएको छ ।

स्वास्थ्य क्षेत्रकी पत्रकार प्रियङ्का पुल्लाले गरेको अनुसन्धानमा गुजरात र तेलङ्गाना राज्यमा ठूलो संख्यामा मृतकको गणना नगरिएको देखाएको खबरमा उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठनले मृतकमा कोरोना भाइरस देखिएमा उसको मृत्युको कारण कोरोना नै उल्लेख गर्न भनेको छ । तर भारतका कतिपय राज्यले ज्यान गुमाउनुअघि कुनै रोग भएमा त्यही रोगका कारण ज्यान गएको भनेर देखाउने गरेको खबरमा उल्लेख छ ।

भारतमा चार मृतकमध्ये एक जनाको मात्र कारण प्रमाणित हुने गर्छ । भारतमा अहिलेसम्म २९ लाख पाँच हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण हुँदा ५४ हजार नौ सय ८७ जनाको ज्यान गएको छ । २१ लाख ५९ हजार आठ सय भन्दा धेरै उपचारपछि निको भएका छन् ।

दिल्लीमा रहेको थिङक ट्याङक अब्जर्भर रिसर्च फाउण्डेशनका उमेन सी कुरियन पनि मृत्युको गणना कुन स्तरमा भैरहेको छ त्यो छलफल हुनुपर्ने बताउनुहुन्छ ।

सङ्क्रमितको अनुपातमा ज्यान गुमाउनेको संख्या युरोप, अमेरिका लगायतका देशमा भन्दा निकै थोरै रहेको भनिए पनि भारतमा मृत्युको गणनामै शंका भएकोले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गणना हुनुपर्ने विज्ञहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here