ज्यान गुमाउनेको संख्या १ सय १३ पुग्यो: आजै मात्रै कोरोना भाइरस संक्रमणबाट थप ४ को मृत्यु


२ भाद्र २०७७, मंगलवार ११:३४ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमणका कारण आजै मात्र थप ४ जनाको मृत्यु भएको छ । ललितपुर, काभ्रे, बाँके र पोखरामा गरी ४ जनाको मृत्यु भएको हो ।

नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको आज उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

निमोनिया समेत देखिएका ३८ वर्षीय गिरीमा कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।साउन ३० गते पाटन अस्पताल भर्ना गरीएका उनको अवस्था गम्भिर भएपछि हिजो साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

यस्तै, बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उहाँ साउन ३२ गते मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । हिजो दिउँसो उहाँको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

हिजो नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

उता, काभ्रेको धुलिखेलमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल– ७ का ९८ वर्षिय पुरुषको आज मृत्यु भएको हो ।

स्वासप्रश्वास र घाँटीमा सममस्या भएपछि उन्लाई साउन २६ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना पुष्टि भएपछि उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो ।

यस्तै, कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यो सगै देशभर कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ सय १३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here