पर्सा । कोरोनाको हटस्पट मानिएको वीरगन्ज क्षेत्रमा फेरि एक डाक्टरसहित ६६ जना नयाँ संक्रमित थपिएका छन्। थपिएका नयाँ संक्रमितहरुमा बाराका ११ जना र पर्साका ५५ जना रहेका हुन्।
नयाँ थपिएका संक्रमित मध्ये २ जना लक्षणसहित नारायणी अस्पतालको आइसीयु कक्षमा उपचार गराइरहेका पनि छन्। योसहित नारायणी अस्पतालकै एक स्टाफ र वीरगन्ज विर्ताका एक डाक्टर पनि संक्रमित भएको नारायणी अस्पतालको कोभिड अस्थायी विशेष अस्पताल गण्डकका इन्चार्ज डा निरज कुमार सिंहले बताए।
संक्रमित मध्ये बाराका ४ महिला र ७ पुरुष तथा पर्साका १३ महिला र ४२ पुरुष रहेका छन्। संक्रमित हुनेहरुमा पर्साको बहुदरमाई नगरपालिकाका एक स्वास्थ्यकर्मीकै कन्ट्याक ट्रेसिङ्गमा परेका २५ जना रहेको डा सिंहले बताए।
त्यसै गरी मारवाडी एक महिलाको कन्ट्याक ट्रेसिङ्गमा परेका ८ जना क्याल परिवारका र नेपाली कांग्रेसका नेता तथा पर्साका पूर्व जिविस सभापति जनार्जन सिंह क्षेत्रीको कन्ट्याक ट्रेसिङ्गमा परेका ४ जनामा पनि कोरोना पोजेटिभ भेटिएको नारायणी अस्पतालले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका पाँच सुरक्षाकर्मी र वडा प्रहरी कार्यालय विर्ताका २ जना सुरुक्षाकर्मीमा पनि संक्रमण देखिएको छ। बाराको वेगा साह मा.वि.को क्वारेन्टाइनमा स्वाव संकलन गराएका प्रसौनी गाउँपालिकाका २ का ५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
त्यसैगरी कलैया उपमहानगरपालिका वडा नं. ६ का २ जना र सिम्रौनगढ नगरपालिका ७ का १ जना रहेको नारायणी अस्पतालको प्रयोगशालाले जनाएको छ। संक्रमितहरु ८ बर्षकी बालिकादेखि ७९ वर्षका पुरुष सम्मको उमेर समूहका रहेको डा. सिंहले बताए।
थपिएका नयाँ संक्रमित सहित प्रदेश नम्बर २ को पर्सामा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ३ सय ७४ पुगिसेको छ। बारामा भने ४ सय ४६ पुगेको छ। तर यो संख्या स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ। कोरोनाका कारण मृतकको संख्या भने पर्सामा २१ र बारामा ६ पुगिसेको प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ।





