धादिङ। त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिन्चोकको काफलगैरीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ।
घरमाथिबाट पहिरो खस्दा २२ वर्षीय मिलन खाँड, उनकी श्रीमती १९ वर्षीया सम्झना खाँड र उनीहरुको डेढ वर्षीय छोराको पनि मृत्यु भएको त्रिपुरासुन्दरी गाउँपालिकाले जनाएको छ।
रातिको समयमा पहिरो खस्दा घरभित्र भएका कोही पनि निस्कन नभ्याउँदा सबैजनाको ज्यान गएको हो। मृतक तीनै जनाको शव स्थानीयवासी र प्रहरीले पहिरोबाट बाहिर निकालेका छन्।
पहिरोमा परेर थप पाँच घर संकटमा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।
त्रिपुरासुन्दरीमा समेत गरी धादिङमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या बुधबार विहानसम्म चारजना पुगेको छ ।
मंगलबार गजुरी गाउँपालिकामा १७ वर्षीया किशोरीको ज्यान गएको थियो। थांक्रेमा एकजनालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । बेनीघाट रोराङकी एक बालिकाको उपचार भइरहेको छ।





