नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको छ ।
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओहरुले स्वतस्फुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो। नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले एमएसओहरुले स्वतस्फूर्त यस्तो निर्णय लिएको जानकारी दिनु भयो ।लेकालीका अनुसार कम्पनीहरुले प्राविधिक कारण देखाउँदै यस्तो कदम चालेका हुन् ।
म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले पनि नेपालमा दुरदर्शन न्युजबाहेक समय समाचार टेलिभिजन च्यानलको प्रसारण रोकिएको पुष्टि गर्नु भएको छ ।उहाँले भारतीय समाचार टेलिभिजन च्यानलले नेपालबारे अतिरञ्जित र भ्रामक समाचार प्रसारण गरिहेपछि यस्तो कदम चाल्नुपरेको जानकारी दिनु भयो ।
नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर गत वैशाख ७ मा नयाँ नक्सा जारी गरेयता भारतीय टेलिभिजन च्यानलले अतिरञ्जित विषय वस्तु प्रसारण गर्दै आएका थिए ।यस्तोमा भारतीय न्युज च्यानल बन्द गर्न कम्पनीहरूमाथि दबाब परेको थियो ।
सर्वसाधरणको चर्को दबाबपछि कम्पनीहरुले यो कदम उठाएका हुन्।नेपाल सरकारले एक वर्ष अघिदेखि नै क्लिन फिड लागु गर्न खोजिरहेको छ । क्लिन फिड लागु नगर्न पनि भारतले दबाब दिँदै आएको छ । नेपालमा यसअघि नाकाबन्दीका समयमा पनि भारतीय च्यानल बन्द गरिएको थियो ।





