क्वारेन्टाईनबाट भागिन् १६ वर्षीया किशोरी


६ असार २०७७, शनिबार ०९:४९ मा प्रकाशित

राजविराज । राजविराज नगरपालिकाको क्वारेन्टाईनबाट एक किशोरी भागेकी छिन्।

यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टाईनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो। अहिले यही क्वारेन्टाईनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन्।

सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टाईनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिए।

यादवका अनुसार क्वारेन्टाईनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि मात्र किशोरी भागेको पत्ता लागेको हो।

क्वारेन्टिनमा खटिएका महिला स्वास्थ्यकर्मीका अनुसार उनी २ महिनाकी गर्भवती छिन्।

झ्यालको फलामे छड बङ्ग्याएर भागेको अनुमान गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले किशोरीको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताए।

भारतको दिल्लीबाट आएकी किशोरी जेठ २५ गतेदेखि क्वारेन्टाईनमा बस्दै आएकी थिइन्।

गत माघ १३ गते एक युवकसँग भागेर भारतको दिल्ली गएकी किशोरीलाई उनकी आमाले बोलाएपछि राजविराज आएकी थिइन्।

राजविराज आएपछि क्वारेन्टाईनमा बसेको १० दिनपछि भागेकी ती किशोरी जान सक्ने घर, माइत, आफन्तकहाँ खोजी गरे पनि फेला नपरेको प्रहरीले जनाएको छ।

यसअघि सोही क्वारेन्टाईनबाट रिपोर्ट नआउँदै घर पुगेका राजविराज–१ का ३० वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएपछि मङ्गलबार नियन्त्रणमा लिई राजविराज–२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा राखिएको छ।

युवकको सम्पर्कमा रहेकालाई पनि क्वारेन्टाईनमा ल्याएर राखिएको इञ्चार्ज हरिवंश यादवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here