काठमाडौं । सरकारले साना उद्योगी र व्यवसायीलाई करका माध्यमबाट भारी छुट दिने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले लघु, घरेलु तथा साना उद्योगी र व्यवसायीलाई आयकरमा भारी छूटको घोषणा गरेका छन् ।
अब साना उद्योगीले वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्दा लाग्ने आयकरमा ७५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।२० लाखदेखि ५० लाखसम्म वार्षिक कारोबार गर्ने साना व्यवसायीले आयकरमा ५० प्रतिशत र ५० लाख देखि १ करोडसम्म कारोबार गर्ने व्यवसायीले आयकरमा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
यसले नवप्रवर्तन तथा सानो लगानीबाट व्यवसाय थाल्ने स्वरोजगार व्यक्तिलाई ठूलो सहयोग पुग्ने सरकारको अपेक्षा छ । यस प्रयोजनका लागि आय विवरण भने २०७६/७७ लाई आधार मानिने भएको छ ।
बजेटले आयकर छुटको अवधिसमेत बढाइदिएको छ ।लघुउद्यमलाई आयकर छुटको अवधि २ वर्ष थप गरी ७ वर्ष पुगेको र महिला उद्यमीबाट सञ्चालित लघु उद्यमलाई तीन वर्ष थप गरी १० वर्ष पुर्याइएको घोषणा अर्थमन्त्री डा. खतिवडाले गरेका छन् ।
सरकारले लघु बिमामा लाग्ने मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।२० लाखसम्म कारोबार गर्ने साना करदाताले आय विवरण र भुक्तानीसमेत विद्युतीय माध्यमबाट बुझाउन सक्ने भएका छन् ।
घरेलु उद्यमीले आयात गर्ने सामग्रीमा भन्सार महसुल घट्यो
सरकारले लघु उद्यमीलाई आयकरसँगै भन्सार महसुलका माध्यमबाट समेत राहत दिएको छ । अब लघु, घरेलु तथा साना, कृषि, पशुपन्छीपालन, पशु उपचार र मास्क बनाउने उद्योगले आयात गर्ने मेसिनमा लाग्ने भन्सार महसुल घटाएको छ ।
यस्ता उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ, कृषि फार्म तथा कम्पनीले आयात गर्ने कृषि यन्त्र, उपकरण, धान, मकै गहुँ र तरकारीको बिउ पैठारी गर्दा लाग्ने भन्सार महसुल समेत सरकारले घटाइदिएको छ । सरकारले कृषि उपजको आयातमा भने कडाइ गरेको छ । प्राथमिक कृषि उपजको भन्सार महसुल बढाउने घोषणा बजेटले गरेको छ । आयातित वस्तुमा लाग्ने कृषि सुधार शूल्कसमेत बढाउने नीति सरकारले लिएको छ ।
हवाई, होटल र पर्यटन व्यवसायीलाई आयकरमा छुट
आगामी आर्थिक वर्षमा सरकारले कोरोनाबाट सबैभन्दा बढी प्रभावित होटल, एयरलाइन्स र पर्यटनसँग सम्बन्धित व्यवसायीलाई समेत आयकरका माध्यमबाट छुट दिएको छ । हवाइ, यातायात सेवा, होटल, ट्राभल, ट्रेकिङ व्यवसायीले चालु आर्थिक वर्ष २०७६/७७ को आय विवरणमा लाग्ने आयकरमा २० प्रतिशत छुट पाउने भएका छन् ।
यस्ता व्यवसायीले मूल्य अभिवृद्धि करको विवरण र कर दाखिला गर्ने अवधिमा समेत छुट पाएका छन् । अब चौमासिक अवधिमा यस्तो विवरण र कर दाखिला गर्न सक्ने भएका छन् ।
औषधी उद्योगले ल्याउने कच्चा पदार्थको आयातमा भ्याट छुट
सरकारले स्वदेशी औषधी उद्योगलाई प्रवर्द्धन गर्न कच्चा पदार्थको आयातमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) मा छुट दिने भएको छ । आयुर्वेदिक औषधिको कच्चा पदार्थ आयातमा समेत भन्सार महसुल घट्ने भएको छ ।
सेनिटाइजरको कच्चा पदार्थका रुपमा प्रयोग हुने घरेलु उत्पादन इथानोल र पीपीईमा लाग्ने अन्तशुल्कमा समेत आगामी आर्थिक वर्षमा छुट हुने भएको छ ।
चुरोट, गुट्खा तथा पान मसला महंगो हुने
सरकारले चुरोट, सिगार, पानमसला, गुट्खाजस्ता वस्तुमा स्वास्थ्य जोखिम कर वृद्धि गरेको छ । त्यसकारण यसको अम्मलीहरुले अब अझै बढी खर्च गर्नुपर्ने भएको छ । सरकारले करीव एक दर्जन वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाउने घोषणा समेत गरेको छ ।
उद्योगहरुले ल्याउने औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको तुलनामा एक तह कम हुने गरी केही वस्तुमा भन्सार महसुल घटाउने निर्णय भएको समेत अर्थमन्त्रीले उल्लेख गरेका छन् । हवाई इन्धन र एलपी ग्यास बाहेक पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहना भने महंगो हुने भएको छ । किनभने सरकारले यी वस्ुतको भन्सार महसुल बढाएको छ ।
औद्योगिक ग्राममा स्थापना हुने उद्योगलाई आयकरमा छुट
आगामी आर्थिक वर्षमा औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापना हुने विशेष उद्योगलाई आयकरमा छुट दिने बजेटले घोषणा गरेको छ । यस्तो उद्योगले ५ वर्षसम्म आयकरमा २५ प्रतिशत छूट पाउने भएका छन् ।
खानेपानी र सरसफाइ उपभोक्ता समूहले अब आयकर तिर्नु नपर्ने भएको छ । यसअघि आयकर निर्धारण भएको भए त्यसलाई समेत मिनाहा गरेको घोषणा सरकारले गरेको छ ।
गाउँपालिका स्तरमा सञ्चालनमा रहेका सबै सहकारीले समेत अब आयकर तिर्नु नपर्ने भएको छ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा सञ्चालित कर लाग्ने कारोबार गरेका सहकारीले भने क्रमशः ५, ७ र १० प्रतिशत मात्र आयकर तिरे पुग्ने भएको छ ।





