काठमाडौं । चीनमा कोरोना भाइरस महामारी फैलिन शुरु भएयता पहिलो पटक शनिबार एक जना पनि सङ्क्रमित थपिएका छैनन् ।
चीनमा पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमण नदेखिएपछि संक्रमण दर शून्यमा झरेको दाबी गरिएको छ । चीनमा आहिले एक जना पनि कोरोनाभाइरसबाट सङ्क्रमित नभेटिएको अधिकारीहरुले जनाएका हुन् । दुई जना भने शंकास्पद देखिएका छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ विरामी नभेटिए पनि अहिले ७९ जना सङ्क्रमितको उपचार भइरहेको जनाएको छ । चीनमा अहिलेसम्म ८२ हजार ९७१ जना सङ्क्रमित भएका छन् भने ४ हजार ६३४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
गएको वर्षको अन्त्यतिर चीनको वुहान शहरबाट नै सङ्क्रमण सुरु भएको थियो र त्यसको केही महिनामा नै पूरै विश्व महामारीको चपेटामा परेको छ ।
तर मार्च महिनाबाट चीनमा सङ्क्रमण हुने दरमा निकै कमी आयो, यसो हुनुमा प्रतिबन्धको कडा रुपमा पालना गर्नुलाई प्रमुख कारण मानिएको छ । यता समाचार एजेन्सीका अनुसार चीनमा बाहिरबाट आएका मानिसमा सङ्क्रमण देखिने क्रम बढिरहेको छ । तीमध्ये धेरैजसो यस्ता चिनियाँ नागरिक छन्, जो विदेशबाट फर्किरहेका छन् ।
कोरोना भाइरसको उद्गमविन्दु वुहानमा पनि यो महिना पहिलो पटक केही इलाकामा सङ्क्रमण देखिएको थियो । वुहानमा गएको अप्रिल ८ तारिखमा लकडाउन हटाइएको थियो ।
हाल चीनमा एक जनामा पनि संक्रमण नदेखिए पनि सामाजिक दूरी कायम गरी अन्य आर्थिक तथा सामाजिक गतिविधिहरु थालिएका छन् । चीनका शैक्षिक संस्थाहरु पनि खुल्न थालिसकेका छन् ।





