सीमा तैथान सुरक्षाकर्मीमाथि झापामा पटक-पटक आक्रमणको प्रयास


४ जेष्ठ २०७७, आईतवार १८:०५ मा प्रकाशित

भद्रपुर, (झापा) । भारतबाट कोरोना भित्रिन नदिन सीमा तैथान सुरक्षाकर्मीमाथि झापामा पटक पटक आक्रमणको प्रयास हुन थालेको छ । नेपाली भुमिमा जोतभोग गर्दै आइरहेका भारतीय नागरिकले अन्नबाली भित्राउने तथा आफन्त भेट्न जान पाउनु पर्ने निहुँमा सीमा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गर्न थालेका हुन् ।

घाँसे मैदान र खेताबारीले सीमा छुट्टाएको दक्षिणी झापाको कचनकवनमा तीन पटक भारतीय नागरिकले सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका छन् । शनिबार बेलुका साढे ७ बजेको समयमा कचनकवल गाउँपालिका १ घेरावारीस्थित १२५/१० नम्बर पिलरको सुरिभिट्टा—झण्टुबस्ती नजिकैको अस्थायी सशस्त्र प्रहरीको पोष्टमा भारतीय नागरिकको जत्थाले आक्रमणको प्रयास गरेका हुन् । सशस्त्रले हवाई फायरसँगै नेपाली नागरिकपनि प्रतिकारमा उत्रिएपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए ।

सुरिभिट्टा भारत पर्छ भने झण्टुबस्ती नेपालमा पर्छ । यसअघि कचनकवलको घेराबारीको चमारभिट्टा र केचनाको खुट्टामनि सीमामा पनि सशस्त्र तथा नेपाल प्रहरी माथि भारतीय नागरिकले आक्रमण प्रयास गरिसकेका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट घेराबारीदेखि डेढ किलोमिटर दक्षिणमा पर्ने १२५/१० नम्बरको पिलर नजिकै बनाइएको अस्थायी पोष्टमा चार जना सशस्त्र प्रहरी खटाइएको छ । पारीपट्टी भारतीय एसएसबी पनि तैनाथ छ । बेलुका भारतीय एसएसबी खाना खान गएपछि सुरिभिट्टाका डेढदेखि दुई सय जना भारतीय नागरिक घरेलु हातहतियार बोकेर सशस्त्रको पोष्टमाथि आक्रमण गरेका थिए ।

भारतीय नागरिकले सशस्त्र प्रहरी बस्ने एउटा कुर्सी तोडफोड गर्नुका साथै अस्थायी पोष्टको बाँस पनि निकालेर फालेका थिए । उनीहरुले सशस्त्र प्रहरीले गस्ती गर्ने एउटा साइकल पनि लुटेर लगेको विओपी घेराबारीका इन्स्पेक्टर पशुराम थापाले जानकारी दिए । भारतीय नागरिकले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि नेपालतर्फका भण्टुबस्ती पनि घरेलु हतियारसहित सशस्त्र प्रहरीसँगै प्रतिकारमा उत्रिएको स्थानीय झ्टटु राजवंशीले बताए ।

भारतीय नागरिकले नेपाली भुमिमा मकै खेती लगाएका छन् । मकै पाकिसकेकोले लानु पाउँ भन्दै शनिबार दिउँसो केहि भारतीय नागरिकले सशस्त्र प्रहरीलाई आग्रह गर्दै सीमा सम्म आइपुगेका थिए । भारतीय नागरिक सीमामा पुगेको देखेपछि भारतीय एसएसबीले लाठी हानेर त्यहाँबाट उनीहरुलाई खेदाएका थिए । दिउँसो एसएसबीले लाठी हानेपछि भारतीय नागरिकको जत्थाले सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेको हो ।

यता नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्ने भारतीय व्यक्तिको पहिचान गरी कारबाही गर्ने भारतीय सुरक्षा निकायले प्रतिबद्धता जनाएको छ । आइतबार बिहान नेपाल–भारत सिमानाको दशगजामा दुवै देशका प्रतिनिधिबीच बैठक बसेको थियो । सोही बैठकमा भारतीय पक्षले यस्तो प्रतिबद्धता जनाएका हुन् । सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गर्ने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्ने मौखिक प्रतिबद्धता भारतीय पक्षले गरेको कचनकवल गाउँपालिका अध्यक्ष अन्जार आलमले जानकारी दिए । घटनाप्रति भारतीय पक्षले क्षमायाचना समेत गरे उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here