कालापानी क्षेत्रमा हेलिकोप्टरमार्फत सामान लिएर सशस्त्र प्रहरी कालापानी जाँदै


२९ बैशाख २०७७, सोमबार १५:३५ मा प्रकाशित

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानी क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी बल खटिने भएको छ ।

विकट कालापानी क्षेत्रमा हेलिकोप्टर बाट बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरीको टोली पठाउने तयारी गरिएको हो । सशस्त्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले दार्चुलाको व्यास गाउँपालिका १ छाङरुमा हातहतियार र जनशक्ति पठाउने तयारी गरिएको बताए ।

श्रेष्ठले भने, ‘ हातहतियार र जनशक्ति पठाउने तयारी गरिरहेका छौं ।’ सबै मौसममा त्यहाँ बस्न कठिन हुने उनले बताए । ‘हिउँ पर्ने ठाउँ भएकाले पूर्ण बन्दोवस्तीका साथ टोली पठाउन लागेका हौं ’ उनले भने ।

कालापानी क्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) राख्ने तयारी पहिलेदेखि नै थियो । तर अहिले सीमामा विवाद देखिएपछि तत्कालै फौज पठाउन लागिएको हो ।

छाङरुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा ३५ जनाको टोली राख्ने सशस्त्र प्रहरी बलको तयारी छ । भौगोलिक रुपमा बिटर छाङ्गरु जाने बाटोको सुविधा छैन । त्यसका लागि सशस्त्रले नेपाली सेनाको हेलिकोप्टरमार्फत् जाने तयारी अघि बढाएको छ ।

हेलिकोप्टरमार्फत नै हातहतियार, गोलीगठ्ठा र बन्दोबस्तीका सामान, ६ महिनासम्मका लागि राशन, साधारण मेडिकल सामग्रीहरुका साथ सशस्त्रको टोली पठाउन लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here