विप्लव समूहका इन्चार्ज र कार्यकर्ता विस्फोटक पदार्थ सहित पक्राउ


२३ बैशाख २०७७, मंगलवार १९:४६ मा प्रकाशित

इलाम । जिल्ला प्रहरी कार्यालय इलामले विष्फोट पदार्थ सहित नेत्र विक्रम चन्द विप्लव नेतृत्वका जिल्ला इन्चार्ज र २ जना कार्यकर्ता पक्राउ गरेको छ ।

जिल्लाको माई नगरपालिका–९ बोरुङबाट ठुलो परिमाणमा विष्फोट पदार्थ सहित नेत्र विक्रम चन्द विप्लव नेतृत्वका जिल्ला इन्चार्ज पुष्प कोइराला र कार्यकर्ता जनम भनिने पासाङ शेर्पा साथै पासाङ तामाङलाई पक्राउ गरेको हो ।

गएराती करिब १२ बजे उनीहरुलाई घेराबन्दी गरेपछि विप्लव कार्यकर्ताले गोली चलाएपछि दुईतर्फ बिच भिडन्त भएको छ । शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीमाथी गोली प्रहार भएपछि शसस्त्र प्रहरीले पनि जवाफी सात राउण्ड गोली चलाएको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

नेपाल प्रहरीले विशेष सुराकीका आधार शसस्त्र प्रहरी समेतको टोलीले गएराती उनीहरुलाई पक्राउ गरेको उनले बताए । पक्राउ परेका इन्चार्ज कोइरालाको घर संखुवासभा, कार्यकर्ता पासाङको ताप्लेजुङ र सौरभको उदयपुर भएको बताइएको छ ।

उनीहरुको साथबाट विष्फोटक पदार्थ र त्यसका लागि प्रयोग हुने सामाग्री सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । पक्राउ पर्नेहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम १ थान, ग्रिनेड १ थान, टुकि बम १ थान, पाइपमा फिट गरिएको बम १ थान, डेथ कड ६७ फिट, बम बिष्फोटमा प्रयोग हुने मिटर र रिमोट ४ थान, विभिन्न प्रकारका बिष्फोटक पदार्थ, चक्कु तथा दस्तावेजहरु फेला पारिएको छ ।

साथै उनीहरुको साथबाट ३३ हजार ७ सय ८० नगद समेत बरामद गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here