रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु


१८ बैशाख २०७७, बिहीबार २०:५१ मा प्रकाशित

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शान्त कुमार ओलीले खबरहबलाई जानकारी दिए ।गाउँपालिका अध्यक्ष ओलीका अनुसार बिहीबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा ४ जना बालबालिका बम विस्फोटमा परेका हुन् ।

बम विस्फोटबाट चारै जनाको घटनास्थलमै मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय होलेरीबाट अहिले प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ लागेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले स्थानीय तहबाट घटनाको विषयमा जानकारी प्राप्त भएको जनाएको छ ।

‘घटनाको विवरण हामीलाई पनि प्राप्त भएको छ । विस्तृत बुझ्नका लागि अहिले इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलतर्फ गएको छ,’ रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले भने ।

घटनास्थलमा अहिले अरु पनि विस्फोटक पदार्थ भेटिएको गाउँपालिका अध्यक्ष ओलीले जानकारी दिए ।

‘घटनास्थलमा अहिले अरु पनि विस्फोटक पदार्थ (बम) भेटिएका छन्,’ अध्यक्ष ओलीले खबरहबसँग भने, ‘ती बम डिस्पोजका लागि सेनाको टोली बोलाइएको छ ।’

अध्यक्ष ओलीका अनुसार घटनास्थलमा बमहरु छरिएका कारण विस्फोटमा परी मृत्यु भएका बालबालिकाको शव समेत उठाउन सकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here