झापाको बाह्रदशीमा कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ


१८ बैशाख २०७७, बिहीबार १९:४४ मा प्रकाशित

झापा । झापाको बाह्रदशी गाउँपालिकामा कोरोना सङ्क्रमित बिरामीका सम्पर्कमा आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना संक्रमित बिरामीका सम्पर्कका आएका उनका परिवारसहित आफन्तजन र छरछिमेकी गरी ६२ जनाको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआरका लागि पठाइएको थियो । विराटनगरमा पीसीआर परीक्षण गर्दा ६२ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । सबैको रिपोर्ट नेगेटिभ आएपछि हाललाई बाह्रदशी गाउँपालिका कोरोनाको त्रासबाट मुक्त भएको उनले बताए ।

दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सभाबाट फर्किएका बाह्रदशी गाउँपालिका– ४ स्थित चकचकी निवासी ५० वर्षीय जमाती पुरुषमा कोरोना भेटिएको हो । उनी स्थानीय मदरसा दारुल उलुम प्राविका प्रधानाध्यापक हुन् । यता गाउँपालिकामा कोरोना भाइरस फैलिन नदिन वडा नम्बर ४ स्थित पूर्व तर्फ कञ्चनगढ, पश्चिममा विरिङ खोला, उत्तरमा पाख्रिवास र दक्षिणमा राधा नगर(घाग्रा खोला) सम्मको चार किल्ला भू– भाग गाउँपालिकाले सिल गरिसकेको छ ।

त्यहाँ आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ । पीसीआरमा सबैको रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकाले सिल हटाउने तयारी गरिरहेको जनाइएको छ । जिल्लाका १५ वटै स्थानीय तहमा अहिलेसम्म २७० जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसमध्ये दमक र बाह्रदशी गरी दुई जनामा कोरोना संक्रमित देखिएको हो । उनीहरुको कोरोना अस्पताल विराटनगरमा उपचार भइरहेको फोकल पर्सन चौलागाँईले बताए । उनका अनुसार ४० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

जिल्लामा ९७० जनाको आरडिटी परीक्षण समेत गरिएको छ । ‘आरडिटी परीक्षणको कार्य अहिले पनि भइरहेको छ,’ उनले भने, ‘जिल्लाका क्वारेन्टाइनमा बसेका १३३ जनाको आरडिटी र पीसीआर परीक्षण गर्न बाँकी छ ।’ क्वारेन्टाइनमा आउने जाने क्रम जारी रहेकोले परीक्षण पनि भइरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here