काठमाडौं । नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ ।
कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिसनर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने बताएका छन् । नाकामा आएर थन्किएका वस्तुलाई रि–रुट गरी अन्य नाकाबाट पठाउन मोहापात्रले भारतीय भन्सारका अधिकारीलाई निर्देशन दिएको विश्वकर्माले बताए ।
भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको उनले बताए । लकडाउनको समयमा सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता वस्तुको आयात धेरै भएको उनको भनाइ छ ।