झापा । कोरोना भाइरसको संक्रमणबाट जोगिन मेची अञ्चल अस्पताल भद्रपुरमा बडी स्यानिटाइजर टनेल प्रयोगमा ल्याइएको छ ।
अस्पतालमा आउने बिरामी र तिनका आफन्तलाई कोरोना भाइरसबाट जोगाउन अस्पतालको अकास्मिक कक्ष नजिकैको प्रवेशद्धारमा बडी स्यानिटाइजर टनेल प्रयोगमा ल्याएको हो । मेचीनगरस्थित मेची अभियानका संयोजक विजय डालमियाले आफ्नै पहलमा तयार पारिएको सो बडी स्यानिटाइजर टनेल अस्पतालका मेसु डा. पीताम्बर ठाकुरलाई मंगलबार दिउँसो हस्तान्तर गरेपछि प्रयोगमा ल्याएका हुन् ।
टनेलमा प्रवेश गर्ने व्यक्तिले गेटमा खुट्टाले स्वीच थिचेपछि भित्र पस्नासाथ केमिकलयुक्त स्प्रेले बडी स्यानिटाइज हुने संयोजन डालमियाले जानकारी दिए ।
‘टनेलमा प्रवेश गर्ने व्यक्तिलाई निसङ्क्रमित गर्ने केमिकल स्प्रेमार्फत स्यानिटाइज गरिन्छ, उनले भने, ‘यसको अर्थ कुनै पनि व्यक्तिले हातमा स्यानिटाइजर दल्नु पर्नेछैन, साबुनपानी खोजिरहनु पर्नेछैन, उनको पूरै शरिरनै टनेलभित्रै स्यानिटाइजर गरिहालिन्छ ।’

अस्पतालमा आइसोलेसन वार्डसहित अन्य चेकजाँचका लागि बिरामी आउने गरेकोले अतिआवश्यक भएर अस्पताललाई टनेल प्रदान गरिएको उनको भनाई छ । स्थानीय युवा प्राविधिकको सहयोगमा खानेपानीका पाइप, टुटी, मोटर, ट्यांकी जडान गरि बिजुलीबाट चल्ने सो टनेल निर्माण गरिएको बताइएको छ ।
यता अस्पतालका मेसु डा. ठाकुरका अनुसार अस्पतालमा बडी स्यानिटाइजर टनेलले कोरोना भाइरसबाट बच्न अस्पताल आउने बिरामी र तिनका आफन्तजनलाई सहयोग पुर्याउने बताए । त्यस्तै अस्पतालको आइसोलेसन वार्ड नजिकै थ्रोट स्वाब कलेक्सन बुथ स्थापना गरिएको छ ।
भद्रपुरका युवा वैज्ञानिक अनिल प्रधानले सोे बुथ तयार पारेको अस्पतालले जनाएको छ । अस्पताललाई पीपीईको अभाव हुन थालेपछि यस्तो बुथ तयार पारेको हो । बुथको प्रयोग गरिएको छैन । ‘बिरामीको स्वाब कलेक्सन गर्दा एउटा चिकित्सकले एउटा पीपीई खर्च गर्नुपर्ने अवस्था छ, तर यो बुथ सञ्चालनमा आएपछि एउटै पीपीई लगाएर चिकित्सकले धेरै बिरामीको स्वाब कलेक्सन गर्न सक्छ,’ उनले भने ।’





