झापा । सरकारले गरेको लकडाउनका कारण सडक सुनसान बनेसँगै झापाको विर्तामोडदेखि सदरमुकाम भद्रपुरहुँदै केचनासम्म पुग्ने सडक बिस्तारको काम सुरु भएको छ ।
लकडाउनको समयमा सडक सुनसान हुने भएकाले दिउँसोको समयमा काम गर्न सहज हुने भएकाले सडक बिस्तारको काम अघि बढाएको ठेकेदार केदार गिरीले जानकारी दिए । उनका अनुसार आज (मंगलबार) बाट सडक बिस्तारको काम सुरु भएको हो ।
प्रशासनसँगको समन्वयमा उपकरणले गर्ने काम जारी रहने गिरीले बताएका छन् । उपकरण चलाउने जनशक्तिलाई सुरक्षित बनाउँदै र सामाजिक दूरी कायम गरेर काम जारी राख्ने उनको भनाई छ ।
सडक डिभिजन कार्यालय दमकको प्रत्यक्ष निगरानीमा सडक बिस्तारको काम भइरहेको गिरीले बताए । कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सरकारले घोषणा गरेको लक डाउनका कारण सडक निर्माणको काम रोकिएको थियो ।





